कुशादेवी (काभ्रे)- जस्तापाताको अस्थायी टहरो। भित्तामा टाँसिएको दम्पतीको तस्बिर। त्यही तस्बिीर देखाउँदै सानो छोराको लगातार जिज्ञासा, ‘बाबा कहिले आउनुहुन्छ?’ कमाउन परदेशिएका पति साउदी अरेबियाको जेलमा परेपछि यही दिन आउनुहुन्छ भनेर बालक छोरालाई जबाफ दिन सकिरहेकी छैनन्, कुशादेवी–२, घिमिरेगाउँकी सरिता तिमल्सिना।
परदेशमा राम्रो कमाएर घर चलाउने, ऋण तिर्ने र छोराछोरी राम्ररी पढाउने सपना बुनेर दुई वर्षअघि साउदी पुगेका पतिन रामचन्द्र त्यहाँको जेलमा परेपछि सरितालाई आफूमाथि पहाड खसेझैँ भएको छ।
‘गत वैशाख ९ गते फोनमा कुरा भएको थियो। केही समयपछि घर आउँछु, सबै राम्रो छ भन्नुभएको थियो’, उनले भनिन्। साउनमा साउदी गएको दुई वर्ष पुग्ने भएकाले दसैँसम्म घर फर्कने सल्लाह भएको थियो, तिमल्सिना दम्पतीको। तर, फोनमा कुरा भएको अर्को दिन रामचन्द्र जेल परेछन्। ‘उहाँका साथीले १२ गते ३ बजेतिर फोनमा खबर दिनुभयोे। सोही दिन बिहान भुइँचालोले घरबाहिरै पुर्यााएको थियो। त्योभन्दा पनि उहाँ विदेशी जेलमा परेको समाचारले पहाडले थिचेझैँ भयो’, सरिताले भनिन्।
किन जेल परेको भन्ने जानकारी लामो समयसम्म नपाउँदा सरितालाई थप पीडा भइरह्यो। ‘कसलाई सोधौँ, श्रीमान जेल परेको भनेर कुरा काट्लान् भन्ने पीर, नसोधौँ मनको डाहा मार्नै सकिएन। पछि उहाँले नै जेलबाटै फोन गरेर जेलमा पर्नुको घटना सुनाउनुभयो,’ सरिताले भनिन्।
घरमा रहँदा रामचन्द्रले पनौती–काठमाडौं चल्ने मिनिबस किनेका थिए। आफैँ चलाउँथे। घरखर्च चले पनि दैनिक कमाइले ऋणको किस्ता तिर्न हम्मे हुन्थ्यो। त्यही भएर घरसल्लाहमा उनी पहिलोपटक कतार गए। १३ महिना कतार बसेर घर फर्केका उनी पुनः साउदी अरेबिया गए।
‘हेभी गाडी चलाउने ड्राइभरको रूपमा साउदी जानुभएका उहाँले भनेको कम्पनीमा काम पाउनु भएन। त्यसपछि व्यक्तिको १६ चक्के ट्रक चलाउने काम पाउनु भएछ’, उनले थपिन्। काठमाडौं, त्रिपुरेश्वरस्थित वर्ल्डवाइड इम्प्लोइमेन्ट प्रालिलाई एक लाख रुपैयाँ बुझाएर रामचन्द्र साउदी गएका सरिताको भनाइ छ। हायल सेन्ट्रल जेलमा रहेका रामचन्द्रलाई रक्सी सेवन गरी ट्रक चलाउँदा दुर्घटना गराएर मानिस मारेको अभियोग छ।
‘फेक्ट्रीबाट सिमेन्ट लोड सकेर पार्किङमा रहेको मेरो ट्रकमा पाकिस्तानी चढेको कार ठोक्किएर एकको मृत्यु भयो। उनीहरूको जमात धेरै थियो। मेरो ट्रकमा रक्सीको बोतल राखिदिएछन्। रक्सी खाएर ट्रक चलाएको भन्दै पक्राउ गराए’, रामचन्द्रले नागरिकसँग फोनमा भने, ‘मैले नेपालमा रहँदा पनि खाने गरेको थिइनँ र साउदीमा पनि खाएको छैन।’
नेपालबाट जाँदा उनलाई बसिर मोहम्मद अल अनेजी ट्रान्सपोर्ट कम्पनी अलगसिम, साउदीमा काम गर्नुपर्ने भनिए पनि उता पुगेपछि कम्पनीको नभई व्यक्तिको ट्रक चलाउने काम दिइएको थियो।
आफूलाई फसाइएको रामचन्द्रको दाबी छ। ‘कार बनाउनमात्र १० हजार ५ सय साउदी रियाल (३ लाख नेरु) मागेको छ। त्यत्रो रकम कहाँबाट ल्याएर दिन सक्नु’, उनले भने।
परदेशमा आफू विपतमा पर्दा यहाँस्थित नेपाली दूतावासलगायत कसैले सहयोग नगरेको रामचन्द्र बताउँछन्।
‘म त नखाएकै विष लागेर परदेशमा कुहिने भएँ’, फोनमा रामचन्द्रले भने। उनीमाथिको मुद्दामा अदालतको फैसला आउन बाँकी छ।
‘मिनिबस किन्दाको अझैँ ६ लाख जति ऋण सहकारीमा तिर्न बाँकी छ। कमाएर त्यही ऋण तिर्न भनेर उहाँ परदेश जानुभएको हो’, सरिताले भनिन्। उनीहरूका २ छोरामध्ये कान्छो आयुष ५ वर्ष र जेठो निराजन ७ वर्षका छन्।
नागरिक न्युज बाट साभार
![]() |

0 comments:
Post a Comment