कलाकार दीपक क्षेत्रीको उपचारका लागि सहयोग जुट्दै, हालसम्म ६ लाख ६१ हजार रकम संकलन

काठमाडौं, चैत २९ – सय भन्दा धेरै नेपाली चलचित्रमा भिलेनको भूमिकामा देखिएका दीपक क्षेत्रीको उपचारको लागि सहयोग रकम जुट्ने क्रम सुरु भएको छ । केही दिन अगाडि केही अनलाईनहरुमा उनले दिएको भिडियो अन्तर्वार्तापछि सबैको ध्यान उनी तर्फ मोडिएको थियो । जहाँ उनको शरीर निकै जिर्ण र आवाज दबिएको सुनिन्छ । उनको नाजुक अवस्थालाई देखेर देशविदेशबाट सहयोग रकम आउन थालेको छ । अमेरिकाबाट रंगपत्रकार सुरेशदर्पण पोखरेल, नायक मुकेश ढकाल लगायतको अग्रसरतामा ३ लाख रुपैयाँ संकलन गरिएको छ भने चलचित्र राज्जारानीको टिमबाट २ लाख ११ हजार १ सय ११ रुपैयाँ, चलचित्र पत्रकार संघ मार्फत १ लाख ५० हजार रुपैयाँ संकलन भइसकेको छ । यस हिसाबले अहिलेसम्म ६ लाख ६१ हजार भन्दा धेरै रकम संकलन भइसकेको छ । अन्य स्थानबाट पनि उनको स्वास्थ्य उपचारका लागि सहयोग रकम प्रदान गर्ने क्रम र प्रतिबद्धता जारी रहेको छ । उनको घाँटीको अप्रेशन गर्न ५ लाख रुपैयाँ लाग्ने र सम्पूर्ण खर्च गर्न लगभग १० लाख रुपैयाँ लाग्ने बताइएको छ । लामो समयदेखि चलचित्र क्षेत्रमा क्रियाशिल दीपक ४ वर्षसम्म लगभग आवाज बिहीन भएका थिए । उनको घाँटीमा मासु पलाएका कारण उनी राम्ररी बोल्न नसक्ने अवस्थामा पुगेका हुन् । केही भिडियो अन्तर्वार्तामा उनले आफ्नो उपचारको लागि सबैलाई रुँदै, हात जोड्दै सहयोगको याचना गरेका थिए । विभिन्न मिडियासँगको कुराकानीमा उनले रुँदै भनेका छन्, ‘देश छ कि छैन ? यदि देश छ भने कलाकार दीपक क्षेत्रीलाई सहयोग गर्नुपर्यो होइन भने सरकारले म कलाकार होइन भन्न सक्नु पर्यो ! मैले करोडौं रुपैयाँ राष्ट्रसँग मागेको होइन मेरो घाँटीको अप्रेशन गर्नको लागि ५ लाख मात्र माग्दा पनि सरकारले वास्ता गरेको छैन ।’ दीपक दुःखी हुँदै अगाडि थप्छन्, ‘अप्रेशन भयो भने फेरि राम्रोसँग बोल्न सक्छु म । मेरो आवाज फेरि फर्केर काम गर्न मन छ ।’ अहिले नेपाल चलचित्र पत्रकार संघको पहलमा सहयोग संकल गर्ने काम पनि भईरहेको छ । तपाईँ पनि उनलाई सहयोग गर्न चाहनुहुन्छ भने ९८५१०२०८३५ मा फोन गर्न सक्नुहुनेछ । -उज्यालो र forseenetwork.com को सहकार्यमा -
![]() |

0 comments:
Post a Comment