मृतक दिनेशको घरनजिकैको घरमा उनका भाइ र आमा बस्छन्। करिब दुई सय मिटर दूरीमा दिनेशको ससुराली छ। दुर्घटनामा दिनेशकी जेठीसासूकी छोरी सृष्टि बरालको पनि निधन भएको छ। ललितपुर धापाखेलका पुराना बासिन्दा बस्नेतको परिवार तिखिदेवलमा बसाइँ सरेको हो। धापाखेलमा अझै पनि ठूलो बस्नेत बस्ती छ। ‘सोच्दै नसोचेको घटना भयो। उहाँहरू तिखिदेवलमै बसाइँ सरे पनि हामी सामाजिक कार्यमा नियमितजसो भेटिरहन्थ्यौं’, दिनेशका काकाका छोरा धापाखेलका मनोजले भने।

दिनेश अस्ट्रेलियामा इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट अध्ययन गरी करिब एक दशकअघि फर्किएका थिए। स्थानीय स्तरमा प्रतिष्ठित छवि बनाएका दिनेश तिखिदेवल क्लबका अध्यक्ष र तिखिदेवल पार्टी प्यालेसका सञ्चालक हुन्। धनमाया बराल फाउन्डेसनका अध्यक्ष उनमा सामाजिक काम र धार्मिक कार्यमा विशेष रुचि थियो। ‘उहाँ धार्मिक काममा असाध्यै रुचि राख्नुहुन्थ्यो। पूजाआजा, पुराण र तीर्थयात्रामा उहाँसँगै श्रीमती पनि अगाडि सरिहाल्नुहुन्थ्यो’, दिनेशका पुरोहित मिलन अधिकारीले भने। ‘दिनेश स्वर्गद्वारी जाने कुरामा निकै उत्साही थिए’, उनले भने। दिनेश श्रीमद्भागवत पुराणकै लागि थाइल्यान्डसम्म पुगेका थिए।
दिनेशकै पहलमा स्कोर्पियो भाडामा लगिएको थियो। चितवनमा एमबीबीएस अध्ययन गरिरहेकी दिनेशकी जेठी छोरी दीक्षा तेस्रो वर्षको परीक्षा दिएर बिदा मनाउन घर आएकी थिइन्। स्वर्गद्वारीबाट फर्किंदा छोरीलाई चितवनमा छाड्ने योजना बस्नेत परिवारको थियो। दीक्षा पढाइमा अब्बल थिइन्। जेम्सबाट विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी उनले प्रसादी एकेडेमीमा विज्ञानमा प्लस टुतर्फ पनि विशिष्ट श्रेणी ल्याएकी थिइन्। उनले सरकारी कोटामा नाम निकाल्दै एमबीबीएस पढेकी हुन्। दीक्षाकी बहिनी दिया जेम्स स्कुलमै कक्षा चारमा पढ्थिन्। उनी पनि ‘फाइनल एक्जाम’ दिएर बसेकी थिइन्। ‘हामीले समाजका एकजना अगुवा र आदर्श परिवारलाई अनाहकमा गुमाएका छौं’, स्थानीय पूर्ण थापाले भने।अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ ।
![]() |

0 comments:
Post a Comment